News Details

  • By Admin
  • 2025-07-12
  • 08.21PM

अन्तर-प्रदेश बजेट संवाद सम्पन्न

फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (एफ.एल.सी.) को आयोजनामा “प्रदेश बजेटका विशेषता र राजस्व अभिवृद्धि” विषयक अन्तर-प्रदेश संवाद कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाले यसअघि संघीयता सवलीकरणका सम्बन्धमा राजनीतिक स्तरको उच्च तहका विभिन्न कार्यक्रमहरू गर्दै आएको सन्दर्भमा यस पटक कर्मचारी तहमा प्रदेश बजेटका विशेषता र राजस्व अभिवृद्धि सम्बन्धी अन्तर-प्रदेश संवाद विषयक संवाद गरिएको हो। 

प्रदेश सरकारका बजेटका विशेषता र राजश्व अभिवृद्धि सम्बन्धी सवालमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय, प्रदेश योजना आयोग, लेखा नियन्त्रक कार्यालयका सचिवहरू लगायत पदाधिकारीहरूको संवाद र सहभागिता महत्वपूर्ण रहेको थियो। 

कार्यक्रममा संघीय सरकारकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्की, अर्थ मन्त्रालयका सहसचिव तथा वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख महेश बराल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव काली प्रसाद पराजुली र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वित्तीय व्यवस्थापन महाशाखाका सहसचिव सेवन्त राज दाहालको सहभागिता रहेको थियो । 

त्यसैगरी, संघीय संसद, राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सचिव सिता काफ्ले वाग्लेको उपस्थिति पनि विशेष रह्यो। प्रदेश सरकारका तर्फबाट शंकर नेपाल (कोशी), कृष्ण प्रसाद मैनाली (बागमती), राजेन्द्रदेव पाण्डे (गण्डकी), डिलाराम पन्थी (लुम्बिनी) र रविलाल शर्मा (कर्णाली) लगायतका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवहरू सहभागी थिए।

यस्तै, लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, कोशी प्रदेशका लेखा नियन्त्रक दामोदर खत्री, बागमती प्रदेशका लेखा नियन्त्रक हरिप्रसाद उपाध्याय र मधेश प्रदेश अर्थ मन्त्रालयका उपसचिव उपेन्द्र न्यौपाने समेत कार्यक्रममा सहभागी थिए। कार्यक्रममा संघीयता कार्यान्वयन, बजेट निर्माणमा प्रदेशहरूको सशक्त भूमिका, अन्तरसरकारी वित्तीय समन्वय तथा राजस्व स्रोतको परिचालन सम्बन्धमा गहन छलफल भएको थियो।

कार्यक्रमको अध्यक्षता एफ.एल.सी. अध्यक्ष तथा पूर्वराष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले गर्नुभयो। कार्यकारी निर्देशक प्रकाश पन्थले सञ्चालन गर्नुभएको कार्यक्रममा एफ.एल.सी.का बोर्ड सदस्य प्रल्हाद लामिछानेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो।