News Details

  • By Admin
  • 2025-07-12
  • 07.33PM

राजनीतिक दलका नेताहरुसँग संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक छलफल कार्यक्रम सम्पन्न

बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको ूप्रदेशका सवालहरुू बिषयक एक छलफल कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रमा अधिकार राखेर केही नहुने भएकाले प्रदेश बनाएको र प्रदेशले आफ्नो अधिकार क्षेत्र भित्र पर्ने काम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ। बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको आयोजनामा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु बिषयक कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। उहाँले अब परिणाममुखी हुनुपर्छ यसका लागि संबिधानमा लेखिएको लागू गर्नुपर्छ भन्नुभयो। हामी युद्धस्तरमा १८ वटा विधेयक संसदमा ल्याउने, कार्यविस्तृतिकरणको प्रकृया अगाडि बढाउने र लगानी तथा एकीकत कानुन संशोधन गर्ने बिषयमा काम भईरहेको जानकारी दिनुभयो।


प्रदेशका सवालहरु बिषयमा संस्थाका तर्फबाट डा. दीपेन्द्र रोकाया र कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले प्रस्तुत गर्नुभएको कार्यपत्रमा प्रमुख दलका नेताहरू, संघीय सांसदहरू र बागमती प्रदेशका मन्त्री, सांसद तथा कर्मचारीले आआफ्नो धारणा राख्नु भएको थियोे। 


बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ) को अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले एफ.एल.सी.ले संकलन गरेका प्रदेशका सवालहरु प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको र यो कुरा पार्टी नेतृत्वमा पुर्‍याउने र विमर्श गराउने प्रतिवद्दता जाहेर गर्नुभयो। अहिले दोष कतै थोपरेर उन्मुक्ति पाउने ठाउँमा हामी छैन। 


नेकपा (माओवादी केन्द्र) का नेता तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो अनुभवमा नेपालका राजनीतिक दलका मुख्य नेताहरूको दिमाग संघीयताको पक्षमा नभएको बताउनु भयो। संघीय सरकार र शिर्ष नेताहरूको अरुचिका कारण प्रदेशका कार्यसम्पादनमा जटिलता आएको बताउँदै मुलुक र जनताको पक्षमा चिन्ता गर्दै अघि बढे संघीयता सफल हुने बताउनु भयो। यसैगरी एकीकत  समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोसीले संघका मन्त्रालय र जनप्रतिनिधिले तल अधिकार दिन चाहँदैनन् भन्ने कुरा सही नै भएको बताउँदै केही कुरामा आफू पनि आलोचित छु भन्नुभयो। उहाँले संघका कर्मचारी कर्नाली र मधेस प्रदेशमा जान नचाहेको र स्थानीय सरकारले निमित्तबाटै चलाउँदा राम्रो मान्ने प्रवृत्ति गलत भएको बताउनु भयो। 


यसैगरी संस्थाका अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यक्रमलाई सहजिकरण गर्नुभएको कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, रामकृष्ण ताम्राकार, रामेश्वर श्रेष्ठ, नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सुशीला थिङ, छुमी लामा, बागमती प्रदेशका आर्थिक मामिला सचिव  कृष्णप्रसाद  मैनाली, रन्जित चित्रकार, बागमतीका राप्रपा दलनेता उद्दव थापा, एमाले दलनेता जेएन थपलिया प्रमुख सचिव डा. हरि लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना लगायतले बोल्नु भएको थियोे। छलफल कार्यक्रम फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले सञ्चालन र संस्थाकी सदस्य तथा पुर्वसांसद दिलकुमारी थापा रावल (पार्वती) ले स्वागत मन्तव्य राख्नुभएको थियो ।